एक सय परिवारको निःशुल्क स्वास्थ्य बीमा
नवलपुर | कात्तिक २३, २०७९
तस्बिर फाइल
नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१६ ले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको छ । स्थानीयको स्वास्थ्य उपचार सहजताका लागि वडा कार्यालयले निःशुल्क बीमा कार्यक्रम थालनी गरेको वडाध्यक्ष विनोद मल्लले बताउनुभयो ।
उक्त वडामा पहिलो चरणमा सय विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिने कार्यक्रम सोमबारबाट सुरु भएको वडाध्यक्ष मल्लले जानकारी दिनुभयो । वडा कार्यालयले निःशुल्क रु एक लाख बराबरको स्वास्थ्य बीमा गरिदिने भएको हो । स्वास्थ्य बीमा कार्डबाट बिमितले तोकिएको स्वास्थ्य संस्थाबाट उपचारसँगै एक हजार एक सय प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने वडाध्यक्ष मल्लले बताउनुभयो ।
स्वास्थ्य बीमाबाट बिरामीले समयसमयमा सम्पूर्ण शरीरको परीक्षण गर्न सक्ने बीमा सहजकर्ता नारायणीदेवी पौडेलले बताउनुभयो । सरकारले तोकेका स्वास्थ्य संस्थाबाट बीमाको लाभ लिन सकिने पौडेलको भनाइ छ । सो वडाले चालु आर्थिक वर्ष २०७९÷८० मा स्थानीयको स्वास्थ्य बीमाका लागि रु चार लाख विनियोजन गरेको वडाध्यक्ष मल्लले बताउनुभयो ।
आगामी दिनमा वडाका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने योजना रहेको वडाध्यक्ष मल्ल बताउनुहुन्छ । वडामा रहेका सम्पूर्ण घरपरिवारलाई आगामी पाँच वर्षभित्र बीमा कार्यक्रममा जोडेर निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारको प्रत्याभूत गराउन पहल गर्ने मल्लले बताउनुभयो । वडाको विकासका लागि शिक्षा र स्वास्थ्यमा सहज पहुँच नभएसम्म वडावासीको जीवनस्तरको सूचकाङ्क माथि उठाउन नसकिने मल्लको भनाइ छ ।
उक्त वडामा छ सय १६ घरधुरी रहेका छन् । यहाँका करिब दुई सय ५० परिवारले स्वास्थ्य बीमाको लाभ लिएका छन् । वडाले सुरु गरेको विपन्न परिवारलाई स्वास्थ्य बीमा गर्ने अभियानले थप एक सय परिवार स्वास्थ्य बीमा कार्यक्रमबाट लाभान्वित हुने वडाध्यक्ष मल्लले बताउनुभयो ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...
काठमाडौं: युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो ...

